ताजा खबर

लोकबहादुर गुरुङको निधन, गुरुङ समुदायको लागि अँध्यारो दिन

   १२ भाद्र २०७६, बिहीबार २१:५५      1,243 views

एकेन्द्र गुरुङ, निर्माता तथा गीतकार अभियान फिल्मस प्रा.लि.

आदरणीय लोकबहादुर दाइसँग मेरो भेट कलेज पढ्न पोखरा झरेपछि भएको हो । राष्ट्रव्यापी गीत प्रतियोगितामा प्रथम भएको ‘कस्की छोरी होउ नानी’ भन्ने बोलको गीतको लेखक र गायकको म पारखी थिए । तर चिनजान साधरण भने मैले बुद्धोदय माध्यमिक विद्यालयमा अध्यापन थालेपछि जिल्लाको शिक्षा निर्देशनालयले आयोजना गर्ने साँस्कृतिक कार्यक्रम तथा राजारानीको भ्रमणमा आयोजना गरिने साँस्कृतिक कार्यक्रमहरुमा लमजुङे टोलीको नेतृत्व गर्दै मलाई पठाउँथे त्यही बेलादेखिको हो ।

लोक दाइ हाम्रो साँस्कृतिक प्रतियोगितात्मक कार्यक्रमहरुमा निर्णायकको भूमिकामा देखिनु हुन्थ्यो । त्यही बेलादेखि उहाँसँगको उठबस बाक्लिंदै गएको हो । उहाँ तत्कालीन भद्रकाली मा.वि.को प्र.अ. म तत्कालीन बुद्धोदय मा.वि., गिलुङको प्र.अ.थिए । सहजमा हामीहरु भेटघाट भइरहन्थ्यो । त्यही बेला डाँफेकला मन्दिरका मिनबहादुर गुरुङसँगै उहाँहरुले “न्हाम्स्यो न्होरी” (कुहिरोभित्र) नामको गुरुङ चलचित्र निर्माण गर्नुभयो । गुरुङ भाषा संस्कृतिको संरक्षण र सम्वद्र्धनमा गुरुङ भाषाको चलचित्रको महत्वपूर्ण स्थान र योगदान हुन्छ भन्ने विश्वासको उहाँप्रतिको मेरो विश्वास र आस्था झनै चुलियो । उहाँको चलचित्र निर्माण गर्ने क्रम बढ्दै गएपछि क्रमशः ‘ङ्योए नाँस ट्हो’ पछि ‘हेर्वे ट’ (लेकाली पूmल) को निर्माणको बजार व्यवस्थापनको क्रममा पुनः भेट भयो ।

यो हङकङको कुरा थियो । लोक दाइ र श्यामजी चलचित्र लिएर हङकङ आउनुभएको थियो । मेरो अनुरोधमा आशिष गुरुङ (प्रोफेसनल कम्प्यूटर) पनि साथमा आउनुभएको थियो । चलचित्र सेन्सर गर्ने र टिकट बिक्री वितरण गर्ने मैले सहयोग गरेको थिए । चलचित्र प्रदर्शन सोंचेभन्दा बढी सफल भयो । उहाँहरुको हङकङ, मकाउको यात्रा असाध्यै रमाइलो र सुखद् रह्यो । हर साँझ विविध साँस्कृतिक कार्यक्रमले रोचक बनाउँथ्यो । ‘हेर्वे ट’ को ‘छ््याँबरानी ङोलस्यो दे ङल’ भन्ने बोलको गीत हङकङको नेपाली कार्यक्रमहरुमा खुब चर्चित भयो । अर्को वर्ष अभियान फिल्मसको व्यानरमा ‘चो’ (भाउजु) निर्माण भयो । हङकङमा चोँ (भाउजु)को प्रदर्शन भयो । उहाँहरु हङकङ आउनुभएन सबै जिम्मेवारी मेरो थियो कार्यक्रम सफल भयो ।

केही समयपछि एकदिन लोक दाइले नेपालबाट फोन गरेर तमू चलचित्र निर्माणमा सहकार्य गर्ने कुरा राख्नुभयो । हामी हङकङमा उहाँहरु नेपालमा रहेपनि हामी एउटै घरको परिवार जस्तो नजिक भैसकेका थियौं । त्यसैले तमू चलचित्रको निर्माणको सहकार्यमा हामी उत्साहित भयो । मेरा साथीहरु दीलिपसिं गुरुङ, सेप्mटी मेनेजर हेल्थ एण्ड सेप्mटी, सत्य घले, तत्कालीन अध्यक्ष फियोना हङकङ, विजय कुमार गुरुङ, अध्यक्ष लमजुङ सेवा समिति हङकङ, प्रकाश गुरुङ तत्कालीन सचिव लमजुङ सेवा समिति हङकङ र म तत्कालीन अध्यक्ष तमू ट्हो ह्यूल हङकङ हामी सबै अभियान फिल्मसमा निर्माताको रुपमा सम्मिलित भयौ । हाम्रो प्रथम प्रस्तुति गुरुङ चलचित्र ‘क्रमु’ (पछ्यौरी) थियो ।

गुरुङ चलचित्र इतिहासमा ‘क्रमु’ एउटा सुन्दर प्रस्तुति थियो । गीत, संगीत र कलाको यो वेजोड संयोजन थियो । यसको प्रिमियर सो हङकङमा भएको थियो । निर्देशकद्वय लोक दाइ र श्यामजी, नायिका द्वय सविना र नविना पनि प्रिमियर सोको लागि हङकङ आउनुभएको थियो । क्रमु (पछ्यौरी) राम्रो चलेपछि ‘प्ह्रेस्यो’ (दुलही)को निर्माण भयो । नारी प्रधान विषयवस्तुमा केन्द्रीत भएर निर्माण गरिएको प्ह्रेस्योको गीत रिमै थुमै प्रेतना रोधीरी बोलको गीतलगायतका गीतहरु संसारभरिकै तमूहरुको जनजिब्रोमा झुण्डिन सफल भयो । प्ह्रेस्यो (दुलही)को प्रर्दशनको सिलसिलामा निर्देशकद्वय लोक दाइ र श्यामजी बेलायत आउनुभएको थियो । बेलायतमा अल्डासरस्थित मेरो घरमा बस्नुभएको थियो ।

चाहे हङकङ होस् चाहे बेलायत होस् लोक दाइको सहभागिता भएपछि प्रिमियर सोमा विशेष रौनक थपिन्छ । माहौल नै परिवर्तन हुन्छ । संक्षेपमा ‘प्ह्रेस्यो’ को राम्रो बजार थियो । हामी झनै हौसियौ । यही क्रममा तमू धीं युकेको तत्कालीन अध्यक्ष मुक्षेत्र गुरुङ र गैह्र आवासीय राष्ट्रिय समन्वय संघ हङकङको अध्यक्ष त्रिलोक गुरुङ पनि हाम्रो समुहमा थपिनुभयो । हामीले अर्को चलचित्र ‘धीं’ (घर) को निर्माण ग¥यौ । धीं (घर) दर्शकहरुको असाध्यै मन पराएको चलचित्र भयो । एउटै व्यक्तिले ४÷५ पटक हेरेको, सर्वाधिक सफल गुरुङ चलचित्र भयो । आदरणीय लोक दाइको सुन्दर गीत, सुमधुर संगीत संयोजन र कुशल निर्देशन नै चलचित्र सफलको कडी थियो ।
हामीले निर्माण गरेका चलचित्रहरुको सवल पक्ष भनेको गीत संगीत नै हो । प्रत्येक चलचित्रको गीतहरु पृथक शैलीमा संयोजन गरिएको छ । विशुद्ध गुरुङ भाषाको लोकलयमा आधारित झ्याउरे, सालैजो र गुरुङ सुगम संगीत गीत प्रयोग गरिएको गुरुङ चलचित्र इतिहासमा पहिलो पटक गजलको पनि प्रयोग भएको छ । जसले चलचित्रलाई सुन्दर र आकर्षक मात्रै हैन सिङ्गो गुरुङ गीत ं संगीतलाई नै उठाएको छ । यो सबै उहाँको सोंच र प्रयासाको परिणति थियो ।


गुरुङ चलचित्रको निर्माण गर्नु भनेको जोखिम उठाउनु हो । यसको बजार सीमित छ । बजार व्यवस्थापनमा जटिलता छ । चलचित्र वितरण र प्रदर्शनको प्रणाली छैन । त्यसैले गुरुङ चलचित्रको सट्टामा नेपाली चलचित्र निर्माण गर्ने कि ? भन्ने यदाकदा हाम्राबीच कुराकानी हुन्थ्यो । विशेष गरी श्यामजी यस विषयलाई उठाउनु हुन्थ्यो । नेपाली चलचित्रको क्षेत्र ठूलो छ । बजार व्यापक छ । काम गर्नेहरु पनि धेरै छन् । गुरुङ चलचित्रमा काम गर्नेहरु कम छन् । हामीले यसैलाई उठाउनुपर्छ । लोपोन्मुख गुरुङ भाषा संस्कृतिलाई जोगाउनुपर्छ भन्ने उहाँको तर्क रहन्थ्यो । जुन गुरुङ भाषा संस्कृति र सभ्यताप्रतिको उहाँको लगाव र सर्मपण हो । यही भावनाले प्रेरित भएर होला सीमित साधन र स्रोतले निर्माण गरिएको गुरुङ भाषा चलचित्रको बजार व्यवस्थापनमा विशेष जोड दिनुहुन्थ्यो । लगानी डुब्न नदिन उहाँ सदा सचेत र सजक भैरहनुहुन्थ्यो ।


उहाँ कलाकारलाई असाध्यै माया गर्नुहुन्थ्यो, सम्मान गर्नुहुन्थ्यो । आफ्ना छोराछोरीलाई जस्तै व्यवहार गर्नुहुन्थ्यो । गुरुङ फिल्म इतिहासमा कलाकारलाई सम्मान गर्ने कार्यको थालनी उहाँले गर्नुभयो । निर्माता, कलाकार, गायक गायिका, संगीतकार, प्राविधिक सबैलाई पुरस्कृत (अवार्ड दिने) गर्नुभयो ।


गुरुङहरुको संस्कृति र संस्कार बुझ्न विकट गुरुङ गाउँहरुमा पुग्नुहुन्थ्यो । जीवनको अन्तिम दिनहरुमा पनि लमजुङ, कास्की, पर्वत र तनहुँको गुरुङ गाउँहरुमा डुलिरहनुभयो । त्यहाँको वास्तविक वस्तु स्थिति, संस्कार संस्कृति र प्रकृतिलाई गीत संगीतमार्फत प्रस्तुत गर्न प्रयासरत हुनुभयो । गुरुङ गाउँहरुलाई संसारसामु चिनाउन लागिरहनुभयो । मनै छुने थुप्रै कालजयी गीत संगीतको साथमा वहाँ ‘युम्पो देउराली’ (ढुङ्गे देउराली) को लागि दुईटा गीत तयार गरेर संगीत संयोजन गर्ने संगीतकारलाई दिइसक्नुभएको रहेछ । यसरी गीत संगीतमा दिनरात खटिरहने एक स्रष्टा र साधक हुनुहुन्थ्यो । उहाँको गीतहरुमा प्रेम र शान्तिको अनुराग छछल्किन्छ, दुःख र पिँडाको मर्म र भावना पोखिन्छ, समावेशी र समानताको कसीमा उत्रिन्छ र प्रवासी नेपालीको आवाज घन्किन्छ । जसले गर्दा गुरुङ गीत संगीत अरु जनजाति गीत संगीतभन्दा उचाईमा रहेको छ ।


तमू भाषा गीत संगीत र चलचित्र निर्माणसँगै उहाँले पत्रकारिता मार्फत तमू भाषा र संस्कृतिको संरक्षणमा पनि जुटिरहनुभयो । तमू संसार मार्फत । उहाँको एकको प्रयासमा अविछिन्न १३÷१४ वर्ष भयो प्रकाशित भएको । पछिल्लो समयमा प्रतिभाशाली पत्रकार रोशनी तमूस्यो र दिप्ती तमूस्यो उहाँको सहयोग भएर काम गरिरहेको अवस्था छ । शुरुको दिनमा हङकङमा मैले तमू संसारको बजार व्यवस्थापक झैं रहेर काम गरेँ । हङकङमा रहेको तमूहरुको हातहातमा पु¥याउने र पढ्न प्रेरित गर्थे । पछि नेपालको सबै पत्रिपत्रिकाको बजार हेर्दै आएको जगदीप गुरुङले तमू संसारलाई पनि लिएपछि हङकङ र मकाउको बजार व्यवस्थापन सहज भयो । बेलायतमा नेत्र तमू र बलबहादुर गुरुङजी सुरुका तमू संसार प्र्रतिनिधि थिए । अहिले म आफू र फोटोपत्रकार मिलन तमू पनि यसैमा संलग्न रहेको अवस्था हो ।

विशेष गरेर विज्ञापन र लेख रचना पठाउन सहयोग गरिरहेको छु । गुरुङ समुदायलाई लक्षित गरेर धेरै पत्रिका बजारमा आए तर अहिले बजारबाट लोप भैसकेको अवस्था छ । यसलाई बचाउन ठूलै त्याग र बलिदानको आवश्यकता पर्दछ । त्यसको बाबजुद तमू संसार उकाली ओराली गर्दै तमू समुदायमा समर्पित छ । नेपालको गुरुङहरुको गुरुङ गाउँ–गाउँ, बस्ती–बस्ती घर–घर र संसारभरि छरिएर रहेका गुरुङहरुको हातहातमा पुगिरहेको अवस्था छ । गुरुङ भाषा संस्कृति र सभ्यता साथै गुरुङकै हक अधिकार सम्बन्धमा सशक्त आवाज उठाइरहेको अवस्था छ ।

संसारभरका गुरुङ समुदायलाई एउटै मालामा संगठित बनाउन सफल भएको छ । कुन गुरुङ कहाँ छ ? के गरिरहेको छ भन्ने जानकारी गराएको छ । संसारका कुना–कुनामा रहेका गुरुङहरुको गतिविधि र कार्यक्रम तमू संसारले संप्रेषण गरिरहेको छ । तमू संसारको आप्mना सञ्जाल संसारभरी स्थापित गराएको छ । यो सबै लोक दाइको अथक प्रयासबाट भएको हो । यस मानेमा उहाँ आम गुरुङहरुको ढुकढुकी हुनुहुन्थ्यो । संसारको स्रोत हुनुहुन्थ्यो मार्गदर्शक र प्रेरणाको स्रोत हुनुहुन्थ्यो । उहाँ तमू संसारमा गुरुङ गाउँहरुमा पाइने मौलिक विम्ब प्रयोग गर्नुहुन्थ्यो । जुन पूmलझैं सुकोमल र सुन्दर बन्थ्यो । सरल र शालिन भाषाको प्रयोग गर्नुहुन्थ्यो जसको गम्भीर्यता र मिजास बनाउँथ्यो । गुरुङ समाजको हुवहु चित्रण गर्नुहुन्थ्यो जसलाई उहाँको विशेषता मान्न सकिन्छ । गुरुङ समुदायको पिँडा र समस्यालाई सम्बोधन गर्ने प्रयास गर्नुहुन्थ्यो जसले उहाँलाई नागरिक अगुवा र सामाजिक अभिन्यताको आभास दिलाउँथ्यो । साँचो अर्थमा गुरुङ चलचित्र जगतका मात्र नभई गुरुङ भाषा, संस्कृति, सभ्यता र साहित्यको पनि उहाँ एक उज्वल नक्षत्र हुनुहुन्थ्यो । स्रष्टाहरु कहिले पनि मर्दैन उनको कृति र योगदान सधैं अमर र जीवित रहनु हुने गुरुङ समुदायको अमूल्य संयक्तिको रुपमा यसलाई बचाउनु हामी सबैको कर्तव्य हो ।
म अहिले बेलायतमा छु, उहाँ नेपालमा । नेपाल र बेलायतको दुरी सोंचेभन्दा टाढा छ ।

मानिसको जीवन शैली विलकुलै यन्त्रमय भएको छ । घरको परिवारजनसँग भेट्दा पनि विशेष समय मिलाउनु पर्ने अवस्था छ । तर हामी दुईजनालाई त्यस्तो केही कुराले पनि छेक्न सकेन । लामो दुरी, व्यस्त समयभन्दा हाम्रो सम्बन्ध बलवान थियो । हाम्रो विचार एउटै थियो, हाम्रो भावना एउटै थियो । हामी एउटै थियौं । हामीबीच दिनदिनै फोन हुन्थ्यौं, क्षणक्षणमा कुरा हुन्थ्यौं । गुरुङ गाउँको गीतको सुटिङको क्रममा पर्वतको झिलिमराङ वा तनहुँको ढोरफेर्दी जहाँ रहेपनि कार्यक्रम स्थलबाट मलाई सूचना दिनुहुन्थ्यो । गुरुङ भाषा साहित्य र गीत संगीतको विषयमा सरसल्लाह गथ्यौं । छलफल गथ्यौं । नेपालमा रहेका उहाँका शुभचिन्तकहरुले सरको फोन स्वीच अफ छ कहाँ हुनुहुन्छ होला भनेर बेलायतमा मलाई सोध्थे । उहाँले आप्mनो सबै कुरा मलाई भन्नुहुन्थ्यो तर बिरामी भएको कुरा प्रष्ट भन्नु भएन । साधारण रुघाखोकी हो चिन्ता नलिनु मात्र भन्नुभयो । उहाँको देहावसानको तीन दिन अगाडि कुरा भएको थियो । निर्माणाधिन नयाँ चलचित्रबाट म आफू अलग रहने आग्रह गरेको थिए । उहाँले जहिलेसम्म म चलचित्र निर्माण गरिरहन्छु त्यो बेलासम्म तपाई र मेरो सहकार्य टुटाउने होइन । तपाई म त एउटै भयौं भन्नुहुन्थ्यो । छुट्टिने कुरा त मेरपछि मात्र हो भन्नुभएको थियो । त्यो नै उहाँसँगको मेरो अन्तिम सम्वाद थियो । कार्य व्यस्तताले धेरै कुरा गर्न पाइन । यस्तो हुने थाहा भएन । नत्र लामो कुरा गरिन्थ्यो । आज थकथक लागिरहेको छ । दुःखको कुरा त्यही उहाँसँगको अन्तिम कुरा भयो ।


किनभने जिन्दगीमा नसोंचेको नचाहेको कुरा पनि गर्नुपर्दोरहेछ । जुन कुरा सोंच्नै सकिन । व्यर्थ गर्न चाहन्न तर बाध्यता लेखेको कुरा सहनै पर्ने । त्यो दिन जुन दिन म भन्ने चाहन्न मोवाइलको रिङटोन साइलेन्समा राखेर सुतिरहेको अवस्थामा पनि क्वाँरको फोनकलको भाइब्रेसनले मलाई ब्यूझाई दिएको थियो । कल लामो दुरीको थियो । हङकङबाट सत्य घलेको कल रहेछ । दाइ दुःखको खबर छ लोकबहादुर सर हुनुहुन्न रे भन्ने । कल्पनै गर्नै नसक्ने खबर पत्यारै लागेन । मोवाइल लिएर सिटिङ रुममा गए । हङकङबाटै दिलीपसिं भाइको दुईटा मिसकल र भ्वाइसमेल रहेछ । फेसबुकमा पत्रकार रोशनी गुरुङले ट्याग गरेको सूचनामा संसारभरका उहाँका शुभचिन्तकहरुको श्रद्धाञ्जली देखेँ । आपूmलाई सम्हाल्दै श्यामजी (अभियान फिल्मस) लाई फोन गर्ने प्रयास गरे । तर सकिन । पुनः मोवाइलको भाइब्रेसनको कलको संकेत दियो । लामो दुरीको कल थियो दिलीपसिं हङकङबाट लोक सरको अति विश्वासी र प्यारो भाइ । पहिलेको जस्तो हाँसो र खुशी थिएन । आँसु र रोदन थियो । दुवै जना बोल्न सक्ने अवस्थामा थिएन ।

बेलायतको स्थानीय समय अनुसार बिहानको २ बजेको थियो तर हामी नेपालीको रातको २ बजे भन्ने गछौं । सोफामा झोक्रिरहेँ । विगत सम्झेँ । लोक दाइलाई सम्झेँ । उहाँले दिनुभएको विश्वास र स्नेह सम्झेँ । हातले आँसु पुछ्दै बाहिर हेरेँ स्ट्रीट पोलको लाईटले उज्यालो देखिने मेरो घरको आँगन चिहाए । अँध्यारो देखेँ । पर अल्डासरको म्यानर पार्क पनि अँध्यारो देखेँ । स्तब्ध र शान्त देखेँ । क्षितिजमा देखिने उज्यालो ताराहरु पनि उज्यालो लागेन सारा जगत नै अँध्यारो । अँध्यारो रात । हामीलाई उज्यालो दिने चम्किलो नक्षत्र अस्ताएको रात । त्यो काहालीलाग्दो रात । मेरो लागि । तमू समुदायको लागि । सबैको लागि ।

(लेखक अभियान फिल्मस प्रा.लि.का निर्माता एवम् गीतकार हुनुहुन्छ । तमू संसारका संस्थापक सम्पादक लोकबहादुर गुरुङको निधनपछि उहाँको सम्झनामा सहकर्मी एकेन्द्र गुरुङले तमू संसारको ५२औं अंकको लागि यो लेख लेख्नु भएको हो । २०७१ सालको तमू संसारको ल्होसार अंकमा यो लेख प्रकाशित छ)

0 0 votes
Article Rating

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ

बजार व्यवस्थापक: रमेश गुरुङ

Find Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284

Shares
0
Would love your thoughts, please comment.x
()
x
%d bloggers like this: